देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील

देशान्तर

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चितवनका एक सय ६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो। जिल्ला सुरक्षा समिति चितवनले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ८९ मतदानस्थललाई संवेदनशील र ३९ मतदानस्थललाई सामान्यमा राखिएको छ । विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थललाई वर्गीकरण गरिएको उनले बताए।

अतिसंवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको तामाङले बताए। सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गरिनेछ । जिल्लामा एक हजार दुई सय नेपाल प्रहरी र एक हजार नौ सय ९१ म्यादी प्रहरी खटिँदैछन् ।

जिल्लामा कुल एक सय ६२ मतदानस्थल छन् । जसमा चार सय ६० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता रहेका छन् । यो विसं २०७४ को निर्वाचनभन्दा १० हजार छ सय ५७ जना बढी हो । मतदातामध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् ।