देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

किसानले गोरु पाल्न छाडे

देशान्तर

काठमाडौं – मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसके। केही वर्षअघि उनको गोठमा एक हल गोरु बाँधिएको हुन्थ्यो। उनको बाउबाजेले गोरुबाट नै खेतीपाती गर्दै आए। तर उनका गाईवस्तु बाँध्ने भकारोमा अहिले गोरु देखिँदैनन्। उनले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि गोरु पाल्न छाडेका हुन्। उनीसँग जोत्नका लागि मिनीटिलर (हाते ट्र्याक्टर) छ । त्यस्तै गहुँ, धान केलाउन थ्रेसरको प्रयोग गरिरहेका छन्।

पाण्डे मात्र होइन, रुकुमपश्चिमका किसान आधुनिक औजारको प्रयोगमा लागेका छन्। गोरुले एक दिनमा हुने काम आधुनिक कृषि औजारले दुई घण्टामै हुने भएपछि जिल्लाका किसानको आकर्षण ती औजारमा देखिएको हो। पछिल्लो समय आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको छ। कृषिको काम गर्दा सहज, छरितो हुने भएपछि जिल्लाका किसान आधुनिक कृषि औजार आकर्षित भएका हुन्। जिल्लामा परम्परागत कृषिबाट कृषक आधुनिक कृषि प्रणालीमा लागेसँगै आधुनिक कृषियन्त्रको प्रयोग बढेको हो।

जिल्ला कृषि विकास कार्यालयले कृषि औजार किन्न किसानलाई अनुदान दिने गरेको छ। कार्यालयका अनुसार जिल्लामा ३० प्रतिशत किसानले आधुनिक कृषि औजार प्रयोग गर्ने गरेका छन्। मिनीटिलर, थ्रेसर, च्यापकटर, सोलारड्रायर, हातेपङ्खाजस्ता औजार प्रयोग हुने गरेको छ।

जिल्लाको सबै क्षेत्रमा आधुनिक कृषि औजारको प्रयोग हुने गरेको कार्यालय प्रमुख मीनबहादुर केसीले जानकारी दिए। सङ्घीय , प्रदेश , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक पालिका एक उत्पादनलगायत कार्यक्रमले कृषकलाई ती सामग्री वितरण गर्ने गरेको उनले बताए। कृषकलाई ५० प्रतिशत अनुदानमा औजार वितरण भइरहेको उनको भनाइ छ।

कृषकले आफैँले पनि ती औजार खरिद गरी प्रयोग गरिरहेका छन्। आधुनिक कृषि औजारमार्फत काम गर्दा सहज हुने भएपछि किसानको आकर्षण बढेको किसानको भनाइ छ। एक हल गोरुले एक दिनमा जोत्ने बारी हाते टेलरले दुई घण्टामा सकाउने किसान बलबहादुर केसीले सुनाए।