देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण

देशान्तर

काठमाडौं – भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण गरिएको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी छिन्।

प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाका लागि ओपिडी टिकट निःशुल्क गरेको बताइन्। उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारको आगामी वर्षको बजेटमा समावेश गर्नका लागि आफ्नोतर्फबाट पहल गर्ने बताइन्। प्रमुख दाहालले भरतपुर अस्पतालको समग्र विकासका लागि महानगर निरन्तर लागिरहेको भन्दै ढल निकास र बर्थिङ सेन्टरका लागि छलफल भइरहेको जानकारी दिइन्।

उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सङ्घीय सरकारलाई देखाउने राम्रो अस्पताल भरतपुर अस्पताल भएको बताए। सङ्घीय अस्पताल भएर पनि भरतपुर अस्पताल सङ्घ र स्थानीय पालिकाको समन्वयमा चलेको भन्दै उनले नवनिर्मित आकस्मिक भवनमा ६० शय्या पुर्‍याउनुपर्ने बताए। उनले पचास शय्या सञ्चालनको तयारीमा रहेको आकस्मिक कक्षमा थप १० शय्या विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अस्पतालमा एमआरआइका लागि आवश्यक प्रक्रिया मन्त्रालयले पूरा गरिसकेको उनले जानकारी दिए । अस्पतालको फोहर व्यवस्थापनका लागि रु दुई करोड ५० लाख निकासा गरिने पोखरेलको भनाइ छ ।  “भरतपुर अस्पतालको विकासका लागि आवश्यक काम गर्न हामी तयार छौँ,” उनले भने ।

कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालको बहिरङ्ग सेवा (ओपिडी)का विषयमा धेरै गुनासो आउने गरेको भन्दै जनशक्ति मुख्य समस्याका रूपमा रहेको बताए । उनले बिमाका कारणले बिरामीको चाप बढेको बताए । उनले दैनिक एक हजार सात सय हाराहारी बिरामीको चाप थेग्नुपरेको उल्लेख गर्दै बिहान १० बजेदेखि नै पेइङ क्लिनिक सञ्चालन गर्ने योजना रहेको बताए ।

विसं २०१३ मा बनेको अस्पतालमा नयाँ आकस्मिक भवन बनेको हो । नयाँ आकस्मिक भवनमा हाल ३५ शय्या सञ्चालनमा छन् । केही समयपछि नै ५० शय्यामा सञ्चालन गरिने भएको छ । नयाँ भवनमा आकस्मिक प्रयोगशाला, एक्सरे, शल्यक्रिया कक्षसहितको व्यवस्था छ ।