देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज यी क्षेत्रमा हल्का वर्षाको सम्भावना

देशान्तर

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन्। उनका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। राजधानी काठमाडौँमा बिहान बदली रहे पनि अहिले केही खुलेको छ। दिउँसो पुनः बदली रहनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा आज हल्का बदली रहे पनि वर्षाको सम्भावना नरहेको मौसमविद् बासीले बताइन् ।

हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।