काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिस्कार गरेको बताएका छन् ।
बुधबार काठमाडौंस्थित शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिस्कार सभामा बोल्दै उहाँले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताएका हुन् । उनले विद्यमान राज्यव्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन जरुरी रहेको बताए।
महासचिव वैद्यले राज्यका तीन वटै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल भइसकेको बताए । शक्ति पृथकीकरणको सिद्धान्त भनिएको भएपनि तिन अंगबीच शक्ति सङ्घर्ष चलिरहेको उनले बताए ।
उनले निर्वाचन आयोगले आफूहरुलाई दमन गरिरहेको बताए। आफूहरु निर्वाचनको बहिष्कारको पक्षमा रहेको भन्दै आचारसंहीता नलाग्ने जिकिर गरे । उनले शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहालमाथि आक्रोश पाेखे ।
उनले दाहालहरुले प्रतिगमनको बिरुद्धमा लडेको भनेपनि आफूहरु माथि प्रतिगमन गरेको बताए । उनले जनताको मौलिक अधिकारलाई खोसेर कुन प्रतिगमनका बिरुद्ध लड्ने हो भनि प्रश्नसमेत गरे । उनले भने, शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दाखेरी माइक भाँचिदिने, पर्चा,पम्प्लेट लुट्ने, नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेर राख्ने ।यो के तरिका हो ? यही हो लोकतन्त्र । प्रचण्डजीहरु भन्नुहुन्छ प्रतिगमनको बिरुद्ध । यहाँभन्दा ठूलो प्रतिगमन के हो ? जनताको मौलिक अधिकारलाई खोस्ने, अनि कुन प्रतिगमनका बिरुद्ध लड्ने हो ? प्रतिगमन त उहाँहरुले नै गरिरहनुभएको छ ।





प्रतिक्रिया