देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

छिटो आर्थिक क्रान्ति गर्न गोरखा २ रोजेको हुँ : प्रचण्ड

देशान्तर

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छ ।

बिहीवार गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर १ को याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राजनीतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको हुँ ।’

चुनावबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले यसअघि जितेको चितवनमा छ सय ११ किमी बाटो कालोपत्र भएको छ । म हिँडेको धुले बाटोहरू मेरै कार्यकालमा कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडीबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने उनले दाबी गरे ।

राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्बर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ रहेको उनको भनाइ थियो । आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको उनले बताए।

चुनावी कार्यक्रमका लागि आज गोरखा आइपुग्नुभएका अध्यक्ष प्रचण्ड मुच्चोक, जौवारी, ताकुलगायतका कार्यक्रममा सहभागी हुने बताइएको छ ।