देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीलाई किन चाहियो वाम गठबन्धन ?

देशान्तर

काठमाडौं । अघिल्लो चुनावमा तालमेल गरी चुनावपछि पार्टी नै एकता गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीन वर्ष पनि सँगै रहन नसकी मुलुकमा जुन राजनीतिक अस्थिरता निम्तियो, त्यसको प्रमुख कारण एमाले अध्यक्ष केपी शर्मा ओली नै हुन् तथ्य सर्वत्र छर्लंग भइरहँदा तिनै ओलीले ४ मंसिरको चुनावी नतिजा सार्वजनिक भएपछि फेरि वाम गठबन्धनको कुरा अघि सारेर जग हँसाउने काम गर्न थालेका छन्। चुनावमा एमाले एक्लैले १५० भन्दा बढी सिट जित्ने दाबी गर्दै आएका ओली अहिले आएर एकाएक वाम गठबन्धनको कुरा गर्नुलाई रहस्यमय समेत मान्न थालिएको छ।

हठ, दम्भ र घमण्डका पर्याय ओलीले चुनावी नतिजाबाट यसकारण पनि पाठ सिकेको हुनुपर्छ कि यसपालिको चुनावमा उनका निकटवर्ती अधिकांश नेता पराजित भएका छन्। पार्टी महासचिवसमेत रहेका र ओलीका उत्तराधिकारी मानिएका शंकर पोखरेल र ओलीका अत्यन्त विश्वासपात्र मानिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि पराजित भएपछि ओली तिल्मिलाउन थालेका हुन्। आफ्ना सहयोगी र विश्वासपात्रले नै चुनावमा बल्ढ्याङ खाएपछि ओलीको होस् खुलेको एमालेकै नेताहरु बताउँछन् ।

ओलीले दुई दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर वाम एकताको कुरा गरेका छन् । पार्टी विभाजनपछि एकपटक पनि दाहालसँग कुरा नगरेका ओलीले अचानक दाहाललाई फोन गरी वाम एकताको कुरा गर्नु पराजयपछिको विनाअर्थको रोइलो मात्रै भएको पनि कतिपयको टिप्पणी छ ।

नेपाल वाम गठबन्धन र वाम एकता अफापसिद्ध भइसकेको छ । जतिपटक प्रयास गरेपछि वाम एकता सफल हुन नसकेको इतिहास छ । निश्चित स्वार्थका लागि एकता र गठबन्धन गर्ने र त्यो पूरा भएपछि वा हुन नसकेपछि फुटिहाल्ने नेपालका कम्युनिस्टहरुको चरित्र रहेको छ ।

आफ्नै सरकार टिकाउन नसकेका ओलीमा जसरी पनि फेरि सत्तामा पुग्ने उत्कट चाहना छ । एमालेबाट उनी आफैं नै नयाँ प्रधानमन्त्रीको दाबेदार हुन् । जसरी पनि फेरि प्रधानमन्त्री बन्न वाम गठबन्धनको चारो फालेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

ओलीले जतिसुकै वाम गठबन्धनको कुरा गरे पनि माओवादी र एमालेबाटै विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी ओलीको छातामुनि बस्न सक्ने सम्भावना छैन । एक नेता भन्छन् यो ओलीको मनको लड्डु घ्युसँग खानेमात्रै कुरा हो।