देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपत्यकाका अधिकांश सार्वजनिक सवारी साधन प्रदूषण परीक्षणमा असफल

देशान्तर

काठमाडौँ – काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारी साधनहरु प्रदूषण परीक्षणमा असफल भएको भएको छ ।

आज काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गरेका अधिकांश सवारीसाधनहरु प्रदूषण परीक्षणमा असफल भएको पाइएको हो । शुक्रबार विभागले गरेको ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षणमा ३८ वटा सवारी साधन असफल भएको पाइएको छ ।

१६ वटा सवारीसाधन मात्रै पास भएको पाएको विभागले जनाएको छ । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले शुक्रबारको प्रदूषण परीक्षणमा असफल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको बताएका छन् ।

उनले प्रदूषण फेल हुनेहरुले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराइ पास भएपछि मात्रै कागजपत्रहरु फिर्ता लैजान पाउने बताए। उनले परीक्षण पास गर्न पठाएका सवारीहरु अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रूपैयाँसम्मको कारबाही गर्ने चेतावनी दिए। महानिर्देशक घिमिरेले आगामी दिनमा सवारीसाधनहरु प्रदूषण फेल भएर चलाएको पाएमा विभाग कारबाही गर्ने कुरामा पछि नहट्ने बताए । उनले विगतमा हालै मात्र प्रदूषण परीक्षण गराएको हो भनेर चालकहरु पन्छिने गरेको भन्दै यसपटक लापरवाही नगर्न आग्रह गरे ।

सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६-६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ । यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य शर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । जसको अर्थ अबदेखि प्रत्येक ठूला तथा भाडाका सवारीले ६-६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ ।

त्यस्तै साना तथा मझौला साधनले १ वर्षमा एक-पटक त्यस्तो जाँच गराउनुपर्छ । जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ । परीक्षण पास नहुन्जेलको लागि रूट इजाजत निलम्वन हुने, सवारीमा रहेका यात्रुहरुलाई अन्तिम बिन्दुसम्म पुर्याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मत सम्भार पश्चात पुनः प्रदूषण चेकजाँचको लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान रहेको छ ।