देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनमा धान उत्पादनमा वृद्धि

देशान्तर

काठमाडौं– चितवनमा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो ।

यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताए। उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा सोही क्षेत्रफलमा ८४ हजार नौ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

उनका अनुसार गत आवमा प्रतिहेक्टर तीन दशमलव सात मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष उत्पादन बढेर चार दशमलव दुई पुगेको छ । आव २०७७/७८ मा तीन दशमलव ७९ प्रतिहेक्टर धान उत्पादन भएको थियो ।

रोगहरूको प्रकोपमा कमी, कृषकमा व्यवस्थापन र सचेतनाका कारण उत्पादन बढेको केन्द्रले जनाएको छ। उनका अनुसार धान ब्लक कार्यक्रम र कृषकले रासायनिक मलको अभावमा पनि वैकल्पिक माध्यमबाट मलखाद व्यवस्थापन गरेकाले पनि उत्पादन बढेको हो ।

जिल्लाका सबै स्थानमा धानखेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरामसिनाजस्ता जातका धान लगाइने गरिन्छ ।