देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय, राति साढे १० बजे ओसारियो सामान

देशान्तर

काठमाडौँ – लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय र सचिवालयको फर्निचर लगायतका सम्पूर्ण सामग्री दाङको देउखुरी ल्याइएको छ ।

३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामानसहितको कार्यालयका सम्पूर्ण सामग्री बोकेर मुख्यमन्त्रीसहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी आइपुगेको हो ।

गएराति साढे १० बजे मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मा राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा मङ्गलवार बिहान झारिएको छ । अब मुख्यमन्त्री कार्यालको सम्पूर्ण काम देउखुरीबाट नै हुनेछ ।

मुख्य मन्त्रीको बुटवलमा रहेको अस्थायी मुकाम बन्द गरिएको छ । आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखा नियन्त्रण कार्यालय पनि यो हप्ताभित्र अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी देउखुरी ल्याउने तयारी छ ।

नवनिर्वाचित लुम्बिनी प्रदेश सभाको शपथ तथा बैठक स्थायी राजधानी देउखुरीमा निर्माणको अन्तिम चरणमा रहेको संसद् भवनमा बोलाउने तयारी गरिएको छ ।

प्रदेश सभाको दुई तिहाइले गरेको निर्णयलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सफल भएको मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिएका छन्।