देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोइलावासमा खानेपानीको सङ्कट

देशान्तर

दाङ। नेपाल भारत सिमानामापर्ने दाङको कोइलावासमा खानेपानीको सङ्कट भएको छ । भएका पानीका स्रोत सुकेपछि अहिले कोइलावासका बासिन्दालाई खानेपानीको सङ्कट परेको हो ।

खोलामा निरन्तर ढुङ्गाजन्य वस्तुको दोहन र मुहानको संरक्षण नहुदा
धारामा पानी आउन छाडेको छ भने कुँवा पनि सुकेपछि पानीको हाहाकार भएको स्थानीयवासी रसिव सिद्धिकीले बताए ।

नेपाली भू–भागमा पानीका स्रोत सबै सुकेपछि कोइलावासी भारतमा पुगेर पानी ल्याउन बाध्य छन् । सिमानामा रहेको भारतीय सुरक्षाबल एसएसबिको शिविरबाट नेपालीले पानी ल्याउने गरेका छन् ।
कुनै बेला राप्ती अञ्चलकै व्यापारिक द्वार रहेको कोइलावास अहिले भने विकासमा निकै पछाडि परेको छ । साविकको कोइलावास गाविस अहिले गढवा गाउँपालिका– ८ बनेको छ ।

करिब दुई हजार जनसङ्ख्या कोइलावासमा खानेपानी व्यवस्थापनका लागि झन्डै १० वर्षदेखि साविक जिल्ला विकास समितिबाट खानेपानीको योजना परे पनि हालसम्म कार्यान्वयनमा कसैले पनि चासो नदेखाएकाले यहाँका जनता फागुन, चैतदेखि असारसम्म खानेपानी लिन भारत जानुपर्ने बाध्यता भएको हो ।