देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

म अहिल्यै मन्त्री बन्दिन : महामन्त्री शर्मा

देशान्तर

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्ने गरेपनि आफूमा मन्त्री बन्ने कुनै आकंक्षा नरहेको स्पष्ट पारे।

उनले पार्टीमा रहेर गर्नुपर्ने कामहरु धेरै रहेकाले मन्त्री बन्न अरुलाई सहयोग गर्ने बताए । महामन्त्री शर्माले सरकारमा मन्त्री बन्ने भन्दा पनि दूर दराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्नेकुरा आफ्नो पहिलो प्राथमिकतामा रहेको स्पष्ट पारे ।

उनले कुनैबेला एक्लै दुई तिहाई ल्याएको काँग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सिमति भएको भन्दै चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला नभएको बताए। उनले आफूले अहिले जिम्मेवार भएर मन्त्रीहरुको आकंक्षा राख्ने नेताहरु उपयुक्त छनोट गर्ने कुरामा ध्यान दिने बताए ।

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय भन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए । उनले अहिले बन्ने प्रधानमन्त्री दुई वर्षलाई मात्रै भएको भन्दै उनले गठबन्धनलाई सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु नहुने बताए।

उनले राष्ट्रपति भवनमा व्यक्ति नभइ प्रवृत्ति लिएर जाने भएकाले पनि तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसावले पनि फरक प्रस्तुति हुन सक्नुपर्ने बताए । महामन्त्री शर्माले काँग्रेसले, गठबन्धनका दलहरु र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने राष्ट्रपति अहिलेको आवश्यक्ता भएको बताए ।

महामन्त्री शर्माले राष्ट्रपति पदको चयन गर्दैगर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानिकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्न आवश्यक रहेको बताए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि संविधानलाई उल्लंघन गर्दा सर्वोच्च अदालतबाट आदेश आउनुपरेको भन्दै अब सो स्थिति सिर्जना हुन नदिने पनि बताए।