देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शपथको गृहकार्यमा जुट्यो संसद् सचिवालय

देशान्तर

काठमाडौं – संघीय संसद सचिवालय प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ ग्रहणको गृहकार्यमा जुटेको छ । नवनिर्वाचित मध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ ग्रहण गराएपछि अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइने भएको हो ।

ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ । हाल नवनिर्वाचित सदस्य मध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महिन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यहि पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दावी पेश गर्न ७ दिनको समय दिएर आह्वान गरी सकेकी छन् । कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको ३ दिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत्–तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद सचिवालयलाई दिनु पर्नेछ ।

सचिवालय प्राप्त तथ्यांक अनुसार प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपाली बाहेकका ११ मातृ भाषामा शपथ लिएका थिए ।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई संघीय संसदको प्रतिक चिह्न (लोगो) प्रदान गर्नेछ । शपथ ग्रहणको दिन हालसम्म यकिन भइनसके पनि आगामी पाँच दिनभित्रै त्यो समारोह नयाँ बानेश्वरस्थित संसद भवनमा हुने संसद सचिवालय जनाएको छ ।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए ।