देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तत्कालै मन्त्री बन्दिनँः विश्वप्रकाश शर्मा

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने कुरामा आफू नरहेको स्पष्ट पारेका छन् । बुधबार कांग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताएका हुन् ।

उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताए । पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरु आफ्नो जिम्मामा रहेको बताए।

महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरुलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने पनि बताए ।

उनले भने, ‘महामन्त्री भएको वर्ष दिन पुग्दैछ । अझै धेरै कुराहरु गर्न बाँकी नै छन् र मलाई यिनै साथीभाईहरुले एक वर्षअघि मात्रै पार्टीको महामन्त्री बनाउनुभएको हो । मेरो काँधमा कतिवटा कामहरु गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको र कामहरुले मलाई पर्खिरहेको बेला छ। अनि विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नतिर लागेर हुन्छ ? यो उचित हुँदैन भनेर अहिले म मन्त्री बन्ने कुरामा छैन भनेको हो । अहिले सरकारमा जाने कुरामा साथीहरु जानुहुन्छ, जान चाहनेहरु साथीहरुलाई संयोजन गर्नु रामो हुनेछ । सरकारमा जाने साथीहरुलाई यो घोषणापत्र बोकेर काम गर्नुहोला है भनेर भन्नु राम्रो । तर अहिले मैले पार्टीको कार्यालयमा बसेर कार्य गर्नुपर्छ । त्यसकारण मन्त्री बन्ने कुरामा तत्कालै विश्वप्रकाश शर्मा लाग्नु हुँदैन ।’

महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजन लगायतका कामहरु अघि बढाउने कुरामा आफू लाग्ने बताए ।