काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले तीन तहकै सरकारले एकताबद्ध भएर काम गर्नसके मात्रै पर्यटन क्षेत्रको विकास हुने बताएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नसके जिडिपीमा पनि सुधार ल्याउनसकिने बताए ।
उनले नेपालमा प्राकृतिक सुन्दरताका पक्षहरु धेरै रहेकाले नेपालले यसको फाइदा उठाउन सक्नुपर्ने बताए । उनले नेपालमा पर्यटकहरूका लागि पर्यटकहरूले चाहेको संस्कृति, कला, सौन्दर्य, प्रकृति र शाहसीक गन्तव्यहरु रहेको स्पष्ट पारे । उनले पर्यटनको विकासका लागि परम्परागत शैली त्यागेर अघि बढ्न आवश्यक रहेको बताए । उनले संघ, प्रदेश र स्थानीय तहको समन्वयतात्मक भुमिकाबाट पर्यटन क्षेत्रको विकास हुन जरुरी रहेको बताए ।
मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा सरकारले जोड दिनुपर्ने बताए । उनले पर्यटकहरुलाई पर्यटनमैत्री वातावरण तयार गर्नुपर्ने आजको आवश्यकता भएको बताए । मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई पर्यटनमा लगानी गर्न र विदेशी लगानी ल्याउन कसरी वातावरण तयार गर्ने भन्ने बारेमा सरकारले सोच्नुपर्ने बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि हरेक प्रदेशले निजी क्षेत्रको लगानी कसरी बढाउने भन्ने नीति बनाउन आवश्यक रहेको पनि बताए ।
नेपाल पर्यटन दशक २०२३ २०३२ को रणनीतिक कार्ययोजना तयार गर्न बनेको विज्ञहरुसहितको कार्यदलले देशैभर बहुपक्षिय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनःउत्थान गर्दै सन् २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पु¥याउने, पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको वृद्धि गरी सन् २०३२ सम्म संख्या ३५ लाख पु¥याउने, आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।
साथै प्रति पर्यटक प्रतिदिन खर्च ४८ डलरबाट १२५ पु¥याउने, देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पु¥याउने योजना बनाएको छ । संस्थागत सुदृढीकरण, पूर्वाधार स्तरोन्नति, लगानी प्रवद्र्धन, पर्यटन सेवा सुदृढीकरण तथा बिस्तार, पर्यटन प्रवद्र्धन तथा जनसम्पर्क बिस्तार, पर्यटन क्षमता विकास, आन्तरिक पर्यटन प्रवद्र्धन, पर्यटन उपज विकास तथा बिस्तार एवं विविधिकरण, कोभिडपछिको पर्यटन पुनःउत्थान तथा पुनः जागरण गर्दै देशैभर पर्यटन प्रवद्र्धनका लागि प्रादेशिक तथा राष्ट्रिय स्तरका अभियान सञ्चालन गर्ने मन्त्रालयले लक्ष्य लिएको छ ।
जसअनुसार सन् २०२३ मा कार्ययोजना निर्माण तथा योजना तर्जुमा, २०२४ मा वागमती प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक अभियान, २०२५ मा गण्डकी प्रदेश, २०२६ मा राष्ट्रिय स्तरको अभियान, २०२७ मा लुम्बिनी प्रदेश, २०२८ मा मधेस प्रदेश, २०२९ मा सुदूरपश्चिम, २०३० मा प्रदेश १, २०३१ मा कर्णाली प्रदेश र २०३२ मा पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने बताएको छ ।





प्रतिक्रिया