काठमाडौं – मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । प्रमुख निकाय भए पनि विद्युतीय सवारीसाधनका लागि उच्च क्षमताको चार्जिङ स्टेशन थिएन । हाल सिंहदरबारमा चार्जिङ स्टेशन भए पनि तर थोरै क्षमताका थिए ।
त्यसको अभाव पूर्ति गर्न सरकारले ३० किलोवाट क्षमताका ५ वटा चार्जिङ स्टेशन निर्माण हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको ‘एनर्जी डेभलपमेन्ट डिकेड एक्सन प्लान प्रोजेक्ट’ले चार्जिङ स्टेशन निर्माण गर्न लागेको हो ।
आयोजना हेर्दै आएका सिनियर डिभिजनल इञ्जिनियर शालिकराम भण्डारीका अनुसार ३० किलोवाट क्षमताका डिसी चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो । मन्त्रालय र आसपासका स्थानमा ती स्टेशन निर्माण हुनेछन्। पछिल्ला दिनमा विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि चार्जिङ स्टेशन निर्माणले अपेक्षित गति लिन सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका अधिकांश चार्जिङ स्टेशन पनि अन्तिम चरणमा पुगेका छन् । कूल ५१ वटा त्यस्ता स्टेशन प्राधिकरणले निर्माण गरिरहेको हो । त्यसमध्ये १२ वटा सञ्चालनमा आएका र ३२ वटाको जडान सकिएको छ । सिंहदरबारभित्रै द्रूत चार्जिङ स्टेशन निर्माण भएपछि विद्युतीय सवारीसाधन प्रयोग अझ बढ्ने सिडिई भण्डारीले जानकारी दिए ।
चार्जिङ स्टेशन निर्माणका लागि मन्त्रालयले आज बोलपत्रमार्फत् प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । स्टेशन निर्माणका लागि निजी वा सार्वजनिक संस्थाले आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । रासस





प्रतिक्रिया