काठमाडौं – नेपालमा हालसम्म ओमिक्रोनको सब भेरियन्ट बीएफ ७ को शंकास्पद नमुना नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले जनाएको छ ।
एनपीएचएलले जिन सिक्वेन्सिङका लागि देशभरिका प्रयोगशालाबाट संकलन गरेको पछिल्ला नमुनामा बीएफ ७ को शंका नदेखिएको जनाएको हो । एनपीएचएलले सीटी भ्यालु २५ भन्दा कम देखिएका नमुनाको जिन सिक्वेन्सिङ गरी भेरियन्ट तथा सब भेरियन्ट पहिचान गर्दै आएको छ ।
“सामान्यत एनपीएचएलले न्यूनतम २५ वटा शंकास्पद नमुना संकलन भएपछि जिन सिक्वेन्सिङ गर्ने गरेको छ । तर, बीएफ बीएफ ७ को शंकास्पद नमुना आए तुरुन्तै सिक्वेन्सिङ गर्ने भनिएको छ । तर, हालसम्म यस्तो नमुना नआएकाले अहिले सिक्वेन्सिङ गरिरहेका छैनौँ,” प्रयोगशालाका सूचना अधिकारी लोकबन्धु चौधरीले भने ।
प्रयोगशालाले यसअघि ४८ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोनका विभिन्न सब भेरियन्टहरू भेटिएको जनाएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने विदेशी तथा स्वदेशी नागरिकमा स्क्रिनिङका क्रममा कोभिड–१९ का कुनै पनि लक्षण देखिए त्यहीँ एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरेको छ ।
पछिल्लो समय छिमेकी मुलुक चीन, भारतलगायत देशमा बीएफ ७ को संक्रमण फैलँदो छ ।





प्रतिक्रिया