काठमाडौँ – गृहमन्त्रीसहित मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको ‘भर्चुअल’ बैठक जारी छ । गृह मन्त्रालयबाट मन्त्री रवि लामिछाने तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायका प्रतिनिधि सहभागी छन् ।
मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिनेछन् ।
गृहमन्त्रीसमक्ष देशभरको सुरक्षा अवस्थाका बारेमा सम्बद्ध अधिकारीले जानकारी गराउने कार्यक्रम तय भएको छ ।
यस्तै गृहमन्त्री लामिछानेले गृहप्रशासनको काम कारबाही र सेवालाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशनसमेत दिने मन्त्रालयले जनाएको छ ।
यो बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृहप्रशासनको सेवा छिटो र छरितो रूपमा उपलब्ध गराउनेलगायतका विषमया केन्द्रित रहेको प्रवक्ता पोखरेलले बताए ।





प्रतिक्रिया