काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट नेपाल फर्किँदा अतिरिक्त मोबाइल ल्याउन पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मंगलबार उनले अर्थमन्त्री विष्णु पौडेललाई केही दिन अगाडि आफूले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन मन्त्री पौडेललाई निर्देशन दिएका हुन् ।
रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अतिरिक्त मोबाइल ल्याउँदा भन्सार तिर्न बाध्य पारेको भन्दै सार्वजनिक रुपमा आलोचना बढेसँगै प्रधानमन्त्रीले यसअघि पनि यस्तो निर्देशन दिएका थिए ।





प्रतिक्रिया