देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सन्दीपको पुनरावेदन पेसी स्थगित

देशान्तर

काठमाडौँ – बलात्कारको मुद्दामा पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारामा रहेका राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन पेसी बिहीबार पनि स्थगित भएको छ ।

उच्च अदालत पाटनमा न्यायधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्विर भण्डारीको इजलासमा परेको पेसी निवेदकका वकिलका तर्फबाट स्थगित गरिएको हो । उनको आज ४ नम्बरमा पेसीको सूची रहेको थियो ।

यसअघि दुई पटक पेसीका लागि तय भए पनि सन्दीपको सुनुवाइ हुन सकेको थिएन । यसअघि ७ पुसमा सन्दीपका कानुन व्यवसायीले ‘बार डे’ परेको भन्दै पेसी स्थगित गरेका थिए भने १४ पुसमा पेसी हेर्न नभ्याउनेमा परेको थियो ।

जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएपछि त्यसविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका थिए । पुनरावेदनले जिल्लाको आदेश सदर भएमा उनी जेलमा नै बस्नु पर्नेछ भने अदालतले उनको पक्षमा फैसला गरेमा उनी रिहा भएर अन्तिम मुद्दाका लागि लड्नु पर्ने छ ।

यसअघि जिल्ला अदालत काठमाडौँले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो।