देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

 दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई परराष्ट्रविद्को सुझाव

देशान्तर

काठमाडौँ – परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

पूर्वपरराष्ट्र सचिव समेत रहेका आचार्यले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा परराष्ट्रविद् आचार्यले आर्थिक र कूटनीति दुवै थाहा नभएकालाई सरकारले राजदूत बनाएर पठाएका कारण मुलुकको आर्थिक कूटनीतिक फलदायी हुन नसकेको बताए ।

‘आर्थिक कूटनीति भन्छौं । तर हामी न आर्थिक नीति न कूटनीति जाने राजदुत बनाउँछौं । यस्तो भएपछि आर्थिक कूटनीति हुन सक्दैन,’ उनले भने, ‘निजी क्षेत्रको नेतृत्व र साझेदारी पनि हुनुपर्दछ आर्थिक कूटनीतिलाई अघि बढाउनका लागि ।’

परराष्ट्रविद् आचार्यले आर्थिक कूटनीति कार्यान्वयनका लागि नीतिगत रुपमा स्पष्ट धारणा तय गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । मुलुकमा लगानी भित्र्याउनका लागि लगानी बोर्डले कामै गर्न नसकेको समेत परराष्ट्रविद् आचार्यको भनाइ थियो ।

उनले मुलुकको आर्थिक विकासका लागि भारत र चीन दुवै मुलुकबाट लगानी भित्र्याउन सरकारले जोड दिनुपर्ने आवश्यक्ता समेत औंल्याए । परराष्ट्रविद् आचार्यले आर्थिक कूटनीतिका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गराउन पनि आवश्यक रहेको बताए ।

बैठकका विमला राई पौडेललगायतका सांसदहरुले आर्थिक कूटनीतिलाई अघि बढाउन अन्तर्राष्ट्रिय अनुभवबारे परराष्ट्रविद् आचार्यसँग जिज्ञासा राखेका छन् ।