भक्तपुर । आदर्श माध्यमिक विद्यालय (डीएमपीएस) मा गठित पूर्वविद्यार्थी समाजले सानोठिमी भक्तपुरमा गत शुक्रबार आयोजित एक कार्यक्रममा छात्रबृत्ति, स्वेटर, पुस्तक र प्रशंसापत्र वितरण गरेको छ ।
विद्यालयकी पुरानी शिक्षिका जाल्पादेवी प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालका एकमात्र डलर अर्बपति एवं नेपाली कांग्रेसका संघीय सांसद विनोद चौधरीले चौधरी फाउन्डेसनमार्फत र अन्य पूर्वविद्यार्थीको सहयोगमा छात्रवृत्ति हस्तान्तरण गरिएको थियो ।
हालसम्म प्रायोजन र सहयोगमा वितरण हुँदै आएको छात्रवृत्ति आगामी वर्षदेखि अक्षय कोषमार्फत वितरण गरिने जानकारी गराइयो । अक्षयकोषका लागि सुरुआती सहयोग घोषणा कार्यक्रम देशान्तर मिडियाका कार्यकारी अध्यक्ष एवं प्रधानसम्पादक वरिष्ठ पत्रकार कविर राणा र त्रिवि व्यवस्थापन संकायका सहायक डिन प्रा.डा. दिलीप पराजुलीले गरेका थिए ।
राणाले स्वर्गीय आमाको स्मृतिमा स्थापित मीनकुमारी प्रतिष्ठानमार्फत ५१ हजार र पराजुलीले स्वर्गीय बुवा कृष्ण पराजुलीको स्मृतिमा ५१ हजार दिने घोषणा गरेका छन् । कार्यक्रममा सांसद चौधरीले विद्यालयको शैक्षिक र भौतिक विकासको लागि अक्षयकोष वृद्धिका लागि मन, वचन र कर्मले लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
चौधरी उक्त विद्यालयबाट एसएलसीमा बोर्ड पाँचौं हुने पहिलो विद्यार्थी हुन् । कार्यक्रममा पूर्वविद्यार्थी लीला लुइँटेलले विद्यालयलाई आफ्नो रचनासहित ५ सय पुस्तक हस्तान्तरण गरिन् भने २०७७÷०७८ को एसईईमा सबैभन्दा पहिलो परिणाम ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो ।





प्रतिक्रिया