काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिक्रियावादीको घेराबन्दी तोडेर आफू प्रधानमन्त्री बनेको बताएका छन् । बुधबार वाईसियलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू सजिलै प्रधानमन्त्री नबनेको बताएका हुन् ।
’प्रतिक्रियावादीका धेरै घेराबन्दीहरुलाई तोडेर यहाँ आइपुगेको हो। सजिलैसित आएको होइन,’उनले भने ,’हामीले विगतमा जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीतिक बनाउँथ्यौं । आज पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रियाबाटै यो सफलता प्राप्त भएको हो। ’
प्रधानमन्त्री प्रचण्डले यो अवसरलाई त्यतिकै खेर जान नदिने बताए । त्यसका लागि सरकार र पार्टीलाई सबैको सहयोग आवश्यक रहेको औंल्याए । यो पटक सरकार सफल हुने र पार्टी सफल हुने कुरा सिंगै राष्ट्र र इतिहासका लागि अविष्मरणी परिघटना हुने उनको भनाइ छ।
प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिए।
उनले भने,’यो अवसरलाई वाईसियललाई बलियो बनाउने कुरामा सदुपयोग गर्नुछ। सुशासन दिएर भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई कठोर रुपमा अगाडि बढाएर सम्बोधन गर्नुछ। ’
प्रचण्डले वाईसियल युवापंक्तिलाई आकांक्षसहित अगाडि बढ्न आग्रह गरे। उनले सरकार र पार्टीलाई सफल पार्न सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए । उनले भने,’पार्टीले गर्नुपर्ने सहयोग र सरकारले गर्ने सहयोग रहन्छ। आकांक्षसहित अगाडी बढ्नु होस । भविष्य उज्ज्वल छ।’
उनले यसअघि माओवादी नेतृत्वको सरकारले सुरु गरेका कतिपय राम्रा कार्यक्रमलाई विभिन्न कारणले कार्यान्वयन गर्न नसकिएको भन्दै अब संकल्पका साथ सबै कामलाई पुरा गर्ने दाबी गरे।
प्रचण्डले अहिले आर्थिक समृद्धिको यात्राको परिकल्पनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सके समाजवादतर्फको यात्राको आरम्भ हुनसक्ने र नेपाल नयाँ युगतर्फ जाने जिकिर गरे।





प्रतिक्रिया