वीरगन्ज । सडक विभागका उपसचिव रहेका रवीन्द्रलाल दाससँग दोहोरो नागरिकता रहेको खुलासा भएको छ । सडक विभागअन्तर्गत अहिले भक्तपुरको सूर्यविनायक–धुलिखेल–बर्दिबास सडक आयोजनामा प्रमुखको हैसियतमा रहेका दाससँग नेपालको र भारतको नागरिकता रहेको बुझिएको छ । दाससँगै उनका परिवारले समेत दोहोरो नागरिकता लिएको भन्दै अहिले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित जिल्ला प्रशासन कार्यालय पर्सामा समेत उजुरी परेको छ ।
दासले बिहारको मधुबनी जिल्ला खजौलीको मतदाता सूचीमा आफ्नो र आफ्नो परिवारको नाम दर्ज गराएका छन् । नेपालमा कमाएको पैसाबाट दासले श्रीमती माल्भिका र छोरा उत्कर्षको नाममा भारतको नयाँ दिल्लीको चार ठाउँमा फ्ल्याट नै खरिद गरेको बुझिएको छ । दासको नागरिकताको विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग बुझ्दा नागरिकता जनकपुरबाट लिएको देखिएको र छोराको नागरिकता पर्साबाटै लिएको देखिएको बताए । उनले दासको नागरिकताका विषयमा गृह मन्त्रालयबाट आएको यो फाइल जनकपुर पठाइदिने भन्दै प्रमुख जिल्ला अधिकारी ढकालले सस्तोमा गाडी खरिद गर्न दासले यस्तो हतकण्डा अपनाएको हुन सक्ने उल्लेख गरे ।
दासको नागरिकता प्रकरणबारे गृह मन्त्रालयका अधिकारीहरूसँग चासो राख्दा अनुसन्धान भइरहेको विषयमा कुनै कुरा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।
दासले दोहोरो नागरिकता लिएको पुष्टि भएमा नेपाली नागरिकता रद्द हुनुका साथै एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।





प्रतिक्रिया