देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विमान दुर्घटनाबारे सदन र जनतालाई जानकारी गराउन काँग्रेसको माग

देशान्तर

काठमाडौँ – नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सरकार सदनप्रति उदासिन, पीडित परिवार प्रति निरपेक्ष र जनता प्रति कर्तव्यविमुख हुन नमिल्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै उनले सरकारले विमान दुर्घटनामा परी निधन हुनेहरुको शव पहिचान भइसक्दासमेत आफन्तलाई बुझाउने प्रक्रियामा ढिलाइ गर्दा आफन्तमाथि झनै पीडा थपिएको बताए ।

उनले विमान दुर्घटनाको बारेमा उठेका सबै पक्षको सम्बोधन गर्न सरकारलाई निर्देशन गर्न पनि सदनको ध्यानाकर्षण गराए । उनले संसद बैठकमा विमान दुर्घटनामा परी निधन हुनेहरुको लागि सदनमा विषयवस्तु प्रवेश गराइने आश गरेपनि त्यसो हुन नसकेको बताए ।

माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सेती खोचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो ।

उनले भने, ‘शवहरु पहिचान भइसकेको भएपनि र भेटिसकेको भएपनि अहिले पनि धेरै आफन्तहरुले शव बुझ्न पाएका छैनन् । शव चाँडो नबुझाउँदा आफन्तमा झनै पीडा र आक्रोशित हुनुहुन्छ । अधिवेशन चालु छ, संसदको बेठक बसिरहेको छ, हामीले चाहेको थिएँ यत्रो ठूलो दुर्घटना भइसकेपछि आजको बैठकमा सरकार यो विषयमा प्रवेश हुनेछ भन्ने थियो, जानकारी गराउँछ के भइरहेको थियो भन्ने थियो । तर जानकारीका साथ सरकार उपस्थित हुन सकेन । आजको कार्यसूचिमा यो कुरा छैन । आजका कार्यसूचीका विषयहरु स्थगन गरी वा केही समय पर सारेर ससदनलाई जानकारी गराउनु पर्छ । ध्यानाकर्षण गराउँछु, सरकार सदनप्रति उदासिन, पीडित परिवारकाप्रति निरपेक्ष र जनताकाप्रति कर्तव्यविमुख हुन सक्दैन । अहिले नै सरकारलाई निर्देशन गरियोस्, यो सरकारले तत्काल जानकारी गराओस् ।’

प्रमुख सचेतक लेखकले विमान दुर्घटनाको छानबिनका लागि सरकारले ५ सदस्यीय छानबिन समिति बनाएको र समितिले आफ्नो निश्चित समयभित्र अध्ययन प्रतिवेदन बुझाउने आशा गरेको बताए ।