देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जहाजको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेश गर्न मन्त्री किरातीको निर्देशन

देशान्तर

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरुको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्ने सम्मको रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमका पदाधिकारीलाई मन्त्री किरातीको कडा निर्देशन थियो ।

उनले निगमको समस्या समाधान हुने गरी विजनेश प्लान तत्काल बनाएर आफू समक्ष पेश गर्न पनि निगम पदाधिकारीलाई सचेत गराए। गुच्छा जत्रो समाधान लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमलाई मन्त्री किरातीको चेतावनी थियो ।

सोमबार निगम व्यवस्थापनले आयोजना गरेको आफूहरुको स्वागत कार्यक्रममा बोल्दै उनले नेपाल वायु सेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाई गर्न नहुने बताए । यदि त्यसो गर्न नसक्ने हो भने निगम पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने पनि मन्त्री किरातीले स्पष्ट पारे ।

मन्त्री किरातीले १ महिनाभित्र अनलाइन टिकट पाउने गरी आवश्यक व्यवस्था मिलाउन पनि निगमलाई निर्देशन गरे । उनले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था आफूहरुले तत्काल गरिदिने पनि बताए। मन्त्री किरातीले निगमलाई मान्छेहरुले घृणा गर्ने गरेको उल्लेख गर्दै त्यसलाई असफल बनाउने छुट कसैलाई पनि नभएको पटक-पटक दोहोर्‍याए । निगमलाई समय, सन्दर्भ वा आफू कसैले पनि असफल हुने छुट दिन नसक्ने उनको भनाई थियो ।

उनले आफूले सेतो लुगा लगाउने गरेको भन्दै कालो दाग लगाउने प्रयास नगर्न पनि सचेत गराए । मन्त्री किरातीले निगमजस्तो मुलुकको गौरवशाली संस्था डुबेको आफूले टूलूटूलू हेरेर बस्न नसक्ने बताए ।

मन्त्री किरातीले अन्य जहाजहरु नाफामा हुने तर निगमको जहाज भने घाटामा हुने कारणको खोजी गर्नुपर्ने समेत बताए ।