काठमाडौं- सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका छन् । सोमबार संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरुलाई संसदमा सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका हुन् ।
उनले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरु संप्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भुमिका खेल्ने भन्दै संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण नभएको बताए ।
उनले पत्रकारहरुलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने बताए । सभामुख घिमिरेले पत्रकारले संप्रेषण गर्न लागेको कुरालाई संसद सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिवद्धता जनाए ।
उनले समाजलाई सचेत गराउन पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताए । उनले समाजलाई सचेत बनाउने भुमिकामा पत्रकारिता लानुपर्नेमा जोड दिए । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरुलाई अन्त्य गर्नुपर्ने पनि उनको भनाई छ ।
उनले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रुपमा विकास गर्नुपर्ने बताए ।





प्रतिक्रिया