देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोंगबुमा प्रहरीको गाडीमा आगजनी र लुटपाट गर्ने १० जना पक्राउ

देशान्तर

काठमाडौं- साेमबार काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्ड आगजनीमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा उदयपुरका बिक्रम राई,  नुवाकोटका रामहरी भण्डारी, लमजुङका विवके श्रेष्ठ, काभ्रेका राजेश तामाङ, प्युठानका दिपेन्द्र पुनमगर र काभ्रेका आशिष खड्का छन्।

जिल्ला प्रहरी परिसर टेकु काठमाडौंका प्रवक्ता सीताराम रिजालका अनुसार सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोका आधारमा पहिचान गरी उक्त कार्यमा संलग्नहरूमध्ये ६ जनालाई नियन्त्रणमा लिइएको हो।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता-२०७४ अनुसार उपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै मोबाइल लुटपाटमा संलग्न चार जनालाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका चिरन रेग्मी, नविन खड्गी, रुपन्देहीका सुजन खत्री र झापाका प्रदीप बस्नेत रहेका छन्। फागुन १ गते नयाँ बसपार्कमा भड्किएको आन्दोलनका क्रममा उनीहरुले लोत्सो मलभित्रका पसलबाट मोबाइललगायतका सामानहरु चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ब्रान्ड न्यु घडी, एयरफोन, मोबाइल, रिचार्ज कार्डसमेत बरामद गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई स्क्रिन गर्ने कार्य भइरहेको परिसरका प्रवक्ता रिजालले बताए।