देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उमेदवार छान्न सानेपामा बैठक, मन्त्री छनौटको विषयमा पनि छलफल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका विषयमा छलफल भइरहेको छ। स्थानीय तह निर्वाचन नजिकिएसँगै कांग्रेसमाथि उपमहानगरपालिका तथा विवाद रहेका नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार छान्ने दबाब बढेको छ। एक नम्बर र ७ नम्बर प्रदेशका उम्मेदवारको टुंगो लागिसकेको छ भने प्रदेश नम्बर २ र ५ नम्बरमा पर्ने सबै जिल्लामा रहेका उपमहानगरपालिका र नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारको टुंगो लाग्न बाँकी छ।

तर कार्यसम्पादन बैठकमा मन्त्री छान्ने बिषयमा पनि छलफल हुने बताइएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाइने मन्त्री छनौटको विषयले पनि बैठकमा प्रवेश पाउने छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्रिपरिषद विस्तारलाई लिएर असन्तुष्टि जनाएकाले यसबारेमा बैठकमा छलफल हुन सक्ने एक नेताले बताए।

पौडेल पक्ष सभापति देउवाले सरकारमा पठाइने मन्त्रीका विषयमा पार्टीभित्र छलफल नगरेको र आफूहरुलाई पेलेर अघि बढ्न खोजेको भन्दै आक्रोशित बनेको छ। पौडेल पक्षले आफूहरुसँग सल्लाह नै नगरी मन्त्रिपरिषद विस्तार गर्न लागिएको भन्दै बुधबार आफ्ना तर्फबाट तत्काल मन्त्री नपठाउने निर्णय गरेको थियो। सपथ ग्रहण कार्यक्रम नै बहिष्कार गर्ने निर्णय गरेपछि देउवाले नेता पौडेललाई टेलिफोन गरी सवैलाई मिलाएरै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए। प्रतिबद्धतापछि मात्रै पौडेल देउवाको सपथ ग्रहण समारोहमा उपस्थित भएका थिए।