काठमाडौं । आगामी चैतमा वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंह सेवा अवधिको कारण नियमित अवकाशमा जाँदा हाल रिक्त रहेका पाँच अतिरिक्त महानिरीक्षक (एआईजी)मध्येबाटै नयाँ आईजीपी बन्ने भएकोले र गृहमन्त्रीको समेत कार्यभार लिएका प्रधानमन्त्री प्रचण्डले समेत नियुक्तिका लागि प्रक्रिया अघि बढाउन गृह प्रशासनलाई निर्देशन दिएकाले एआईजी बन्न १९ डीआईजीहरूको दौडधुप र रस्साकस्सी सुरु भएको छ ।
आईजीपी सिंहकै ब्याचका तीन जनासहित पछिल्लो ब्याचका १७ डीआईजी रहेको आफूलाई सम्भावित आईजीपी भनी दाबी गर्दै हिँडेका डीआईजी अशोक सिंह उमेर विवादका कारण राजीनामा गर्न बाध्य भएकाले अब १६ भाइ डीआईजीको शक्ति केन्द्रहरूमा ‘लिगलिगे दौड’ सुरु भएको हो ।
प्रहरीमा सात महिनायता पाँच जना एआईजीको पद खाली छ भने एक महिनापछि अरू तीन जना एआईजीको पद रिक्त रहनेछ । नेपाल प्रहरीमा प्रशासनतर्फ १४ र प्राविधिकतर्फ ८ गरी २२ जना एआईजीको दरबन्दी रहेको छ । अहिले बढुवा हुने एआईजीबाटै भावी आईजीपी बन्ने भएकाले प्रतिस्पर्धामा रहेकाहरू शक्तिकेन्द्रमा धाउन थालेका छन् । एक महिनापछि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उनका ब्याजी अरू तीन जना अतिरिक्त महानिरीक्षक घर फर्कंदैछन् । गत साउन २० गते तत्कालीन एआईजी विश्वराज पौडेल अवकाशमा गएका थिए भने भदौ ३२ मा मुकुन्दराज शर्माले अवकाश लिए ।
कात्तिक १५ मा अरुणकुमार बीसी तथा त्यसको १० दिनपछि रवीन्द्रबहादुर धानुक पनि अवकाशमा गए । गत सातामात्रै पूजा सिंहले अवकाश पाएकी छिन् । डीआईजीको रेसमा अहिले तीन जना बहालवाला आईजीपी धीरजप्रताप सिंहकै ब्याची रहेका छन् । पुरुषोत्तम कँडेल, नलप्रसाद उपाध्याय र मसउद आलम खाँ रहेका छन् । यसैगरी १६ जना डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, श्यामप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् ।
वरिष्ठताकै आधारमा आईजीपी सिंहका ब्याची कँडेल, उपाध्याय र खाँलाई बढुवा गर्दा दुईजना पछिल्लो ब्याचबाट बढुवा हुने सम्भावना पनि रहेको छ तर, जो कोहीलाई पनि सरकारले बढुवा गर्न सक्ने देखिएकाले १९ जनाको दौडधुप तीव्र भएको हो । अघिल्लो ब्याचीका तीन जनालाई एक महिनाको लागि मात्र एआईजी बन्ने भएकाले पाँच जना नै एआईजी पछिल्लो ब्याचबाट हुने सम्भावना बढी छ । अघिल्लो ब्याचबाट तीन र पछिल्लो ब्याचबाट एआईजी बनाउँदा पनि डीआईजीद्वय दीपक थापा र वसन्तबहादुर कुँवर नछुट्ने गृह स्रोतको दाबी छ । पाँच जना नै पछिल्लो ब्याचबाट बनाएमा अन्य तीन जना पनि थपिने छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले गृह मन्त्रालयको कार्यभार सम्हालेसँगै एआईजी बढुवाका दाबेदारहरू उनका आफन्त र निकट तथा माओवादी केन्द्रका प्रभावशाली नेताहरूलाई आफैं र स्रोतमार्फत रिझाउन तल्लीन भएका छन् । २०५१ मा सेवा प्रवेश गरेकाहरू आईजीपी बनेमा २०८१ को चैतसम्मको कार्यकाल रहनेछ ।





प्रतिक्रिया