देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी धारका नेताहरुले शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने

देशान्तर

काठमाडौं– माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले ‘विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने’ निर्णय गरेको हो ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा ८ वटै पार्टी एकमत रहेका छन् ।

बैठकपछि जारी विज्ञप्तिमा विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरूको कार्यान्वयन हुनुपर्ने कुरामा समेत आफूहरू प्रतिबद्ध रहेको उल्लेख छ । संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनीहरूको बताएका छन् ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायतको सहभागी रहेको थियो ।