संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने तयारि गर्नु भएको छ ।
प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको समेत जिम्मेवारिमा रहनु भएका प्रचण्डले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै दिउँसो १ बजेर १ मिनेटमा बस्ने राष्ट्रिय सभा बैठकमा एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
दुवै सदनको बैठकले संविधान सभा सदस्य गणेशप्रसाद विमलीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची राखिएको छ। विमली २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सदस्यको रुपमा निर्वाचित हुनु भएको थियो । उहाँँको चैत ७ गते निधन भएको थियो ।





प्रतिक्रिया