सत्तागठबन्धन दलहरुको बैठक आज बस्ने भएको छ । मन्त्रालय बाँडफाँटको बिषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पार्नुभएको छ । गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर तयार पारिएको प्रारम्भिक प्रस्तावका बिषयमा आज छलफल हुने छ ।
प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटेमा भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ । यस अघि माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज गठबन्धनको बैठक राख्ने र प्रारम्भिक प्रस्ताव पेस हुने जानकारि दिनु भएको थियो ।
गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँगको छलफलका आधारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यसहित आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यमन्त्रीसहित तीन, एकीकृत समाजवादीलाई एक राज्यमन्त्रीसहित तीन, जसपालाई दुई, जनमत, लोसपा र नागरिक उन्मुक्तिलाई एक–एक र स्वतन्त्र दुई सांसदमध्येबाट एकजनालाई मन्त्री बनाउने प्रस्ताव तयार गर्नुभएको छ ।
माओवादीबाट मन्त्री रहेका मन्त्रालयको हेरफेर गर्ने र कसलाई कुन मन्त्रालय दिने टुङ्गो लगाउने गरी शीर्ष तहमा छलफल भइरहेको प्रधनमन्त्रीको सचिवालयले जनाएको छ । सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दा अहिले माओवादीले सम्हाल्दै आएका केही मन्त्रालय हेरफेर हुन सक्ने नेताहरुले बताएका छन् ।
त्यस्तै नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा हिजो बसेको पदाधिकारी बैठकले ८ मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको हो । त्यस्तै एकीकृत समाजवादीले उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।





प्रतिक्रिया