देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासियाे

ज्यानै जाने डरले स्थानीयवासी भागाभाग

देशान्तर

ललितपुर – ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् ।

गएराति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका हुन । नक्सा पास नै नगरी र आफूहरुसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरुको घर समेत भासिन पुगेको स्थानीयको भनाई छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन ।

सो निर्माणाधिन अपार्टमेन्ट वरपरका एक तला जति घरहरु भासिएका छन । डेरा गरेर बस्नेहरु सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन । अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दावी छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबास विहिन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन ।

यसैबीच, ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छिन्। शनिबार बिहान सो भासिएको घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरेकी हुन् । सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । उनले स्थानीयलाई भासिएको घरमा नबस्न र सुरक्षित ठाउँमा सर्न पनि आग्रह गरिन्। त्यसका लागि आफूले पनि सकेको सहयोग गर्ने उहाँको भनाई थियो ।

अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरु भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन । उनीहरुको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन्। सडक समेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावग्रस्त छन । उनीहरुले आफूहरुको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरुको पीडाको सुनुवाई नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन । स्थानीयले दवाव दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य पनि रोकिएको छ ।