भक्तपुरमा आठ रात नौ दिन मनाइने बिस्केट जात्रा आजबाट सुरु हुँदैछ । आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिन्छ । काठमाडौं उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्केट जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ ।
जात्रामा भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ । लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन रहेको छ । यस्तै, वैशाख ५ गते पनि भैरवनाथको रथ तानेर समापन गरिन्छ । बिस्केट जात्राको क्रममा हुनसक्ने सम्भावित घटना तथा झडपलाई लक्षित गरी यस वर्ष सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।





प्रतिक्रिया