देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवाको बिफ्रिङ : उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन

देशान्तर

नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् ।  

सोमवार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा  पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएको बताउनुभएको पार्टीका सांसद रामहरि खतिवडाले जानकारी दिए । उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेको बताए । 

सांसदहरुले छोटो समय देशको नेतृत्व गरेको बिपी पछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बनेपनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए

उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको जानकारी दिए । बैठकमा सांसदहरुले छोटो समय देशको नेतृत्व गरेको बिपी पछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बनेपनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । 

सांसदहरुले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने ? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताए । 

उनले भने, ‘नेपाली काँग्रेस संसदीय दलले अब केही समयपछि आउने बजेटमा सांसदहरूको धारणा के छ ? भन्नेकुराको बारेमा छलफल गरेको छ । पार्टी सभापतिजीले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने ? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता छ, त्यो सँगै कांग्रेसले बजेट ल्याउँदा जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ, साना साना जनतासँग जोडिने खालका कार्यक्रम आउनुपर्छ । बीपी कोइरालाले छोटो समय देशको नेतृत्व गर्दा जनतासँग जोडिने कार्यक्रम ल्याउनुभयो । अरु बेला कांग्रेसका अर्थमन्त्री धेरै भए, धेरै कार्यक्रम जनताको पक्षमा आएनन् की भन्ने चिन्ताको विषय धेरै सांसदहरुले उठाउनुभएको छ । तर जनताको विकास निर्माणका अपेक्षा धेरै छन् । यसलाई कसरी सम्बोधन गरेर जाने ? भनेर छलफल भएको छ । आज धेरै मान्य सदस्यहरूले बोल्नुभएको छ र सबैले बोल्ने क्रम नसकिएकाले भोलि १० बजे पनि हामी बैठक बसेर छलफल हुनेछ । आगामी बजेटमा जनताका माग र कुरा कसरी सम्बोधन गर्ने, आयोजना पुराना कसरी सक्ने र नयाँ योजना कसरी थप्ने भन्ने बारेमा नै छलफल भयो । प्रत्येक निर्वाचन क्षेत्रमा देखिने योजनाहरू, कार्यक्रम आओस्, स्थानीय तहको कार्यालयमा जाने बाटोहरू कालोपत्रेको व्यवस्था होस्, शहरीकरण, खानेपानी र स्वास्थ्यको व्यवस्था होस् ।