काठमाडौँ । दोश्रो चरणको निर्वाचनमा देशका विभिन्न भागमा जनप्रतिनिधी निर्विरोध निर्वाचित भएका छन् । ताप्लेजुङ–दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसले सुदूरपूर्वी जिल्ला ताप्लेजुङबाट खाता खोलेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिवाङको दलित महिला सदस्य पदमा लछिमाया विश्वकर्माको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी छन् ।
नेपाली काँग्रेसबाट लछिमायाको बाहेक अरु कसैको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । लछिमाया जिल्लाको पहिलो निर्वाचित जनप्रतिनिधि बनेकी छन् । उक्त वडामा काँग्रेसबाहेकका दलले दलित पहिला उम्मेदवार नपाएपछि काँग्रेस निर्विरोध भएको हो ।
त्यसैगरि तेह्रथुम– तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली काँग्रेसकी दलित महिला सदस्य उम्मेदवार विजुलीमाया शङ्कर निर्विरोध निर्वाचित भएकी छन् ।
आइतबार भएको उम्मेदवारी मनोनयनमा उनको एकल उम्मेदवारी परेको थियो । सो पदमा अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले शङ्कर निर्विरोध निर्वाचित भएको मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले बताए । सो वडामा एकमात्रै दलित घरधुरी भएकाले शङ्करको एकल उम्मेदवारी परेको हो ।
कानुनीरुपमै हरेक वडाबाट एकजना दलित महिला निर्वाचित हुने व्यवस्था भएपछि वर्षौंदेखि उत्पीडन, दमन र विभेद सहेर बसिरहेको दलित समुदायका महिला नेतृत्वमा पुग्दैछन् ।





प्रतिक्रिया