धनगढी । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन भई देश विकास र समृद्धिको बाटामा जाने बताएका छन् ।
स्थानीय निर्वाचनको सुरक्षा व्यवस्थालाई लक्ष्य गरी आज धनगढीमा सुरु भएको ७ नं प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले संविधानको कार्यान्वयनपछि विकासको प्रतिस्पर्धाको अभ्यास र भ्रष्टाचार विरोधी काम सुरु हुने बताए ।
देशको राजनीतिक अवस्था र मधेस आधारित दलको मागका कारण सरकारले एकै चरणमा स्थानीय निर्वाचन गराउन नसकेको बताउँदै उनले भने, “निर्वाचनमा सबैलाई समेट्न सरकारले तीन चरणमा निर्वाचन गर्ने निर्णय गर्नुपरेको हो ।” गृहमन्त्री शर्माले संविधानबमोजिम अब प्रशासनिक निकायको पुनःसंरचनाको आवश्यकता रहेको बताउँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई नयाँ संरचनामा लैजानुपर्ने औँल्याए ।
कार्यक्रममा कैलालीका प्रजिअ, गृह मन्त्रालयका सचिव र सुरक्षा शाखाका प्रमुखलगायतले समेत बोल्नुभएको थियो । गोष्ठीमा मन्त्रालयका उच्च अधिकारीका साथै ७ नं प्रदेशका सबै नौ जिल्लाका सुरक्षा निकायका प्रमुख सहभागी छन् ।





प्रतिक्रिया