देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण आजदेखि

देशान्तर

काठमाडौँ । आवेदन संकलन गरेको झण्डै एक वर्षपछि यातायात व्यवस्था विभागले भूकम्पपीडितलाई दिने तयारी गरेको ट्याक्सी नम्बरको आजदेखि गोलाप्रथा गरेको छ। तर, गोलाप्रथा गरी नम्बर वितरण गर्ने अन्तिम समयमा काठमाडौँ महानगरपालिकाले भने काठमाडौँमा थप ट्याक्सी चलाउन नदिने निर्णय गरेको छ।

विभागले आवेदकमध्येबाट तीन दिनसम्म गोलाप्रथा गरी १५ सय ट्याक्सी नम्बरको छिनोफानो गर्दैछ। बुधबार काभ्रे, नुवाकोट र रामेछापका लागि ४९१ ट्याक्सी नम्बरका लागि गोलाप्रथा हुँदैछ। विभागका अनुसार काभ्रेमा २०१, रामेछापमा १६५ र नुवाकोटमा १२५ भूकम्पपीडितले ट्याक्सी नम्बर पाउनेछन्।

यस्तै, बिहीबारदेखि दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका भूकम्पपीडितका लागि छुट्याइएका ५१३ ट्याक्सी नम्बरको गोलाप्रथा हुनेछ। शुक्रबार आठ जिल्लाका भूकम्प पीडितका लागि छुट्याइएका नम्बरको गोलाप्रथा हुनेछ। शुक्रबार काठमाडौँ, भक्तपुर, ललितपुर मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका भूकम्पपीडितका लागि छुट्याइएका नम्बरको गोलाप्रथा हुनेछ। विभागले गर्ने गोलाप्रथा ललितपुरस्थित च्यासल फुटबल मैदानमा हुनेछ।

सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितका लागि १५ सय ट्याक्सी नम्बर वितरण गर्ने निर्णय गरेको थियो। निर्णय अनुसार विभागले गत वर्ष साउन ५ गतेदेखि भदौ २ गतेसम्म ट्याक्सी नम्बर दर्ताका लागि आवेदन संकलन गरेको थियो। १५ सय ट्याक्सी नम्बरका लागि एक लाख ८४ हजारले आवेदन दिएका छन्।