काठमाडौं । सरकारले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ मा मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
यस्तै मन्त्रिपरिषद्को बैठकले लिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । बुटवल–लमही चारसय केभी प्रशारण लाइनअन्तर्गत मोतिपुर सवस्टेसनका लागि बाणगंगा नगरपालिकामा १५ विगाह जग्गा प्राप्ति गर्ने र प्रारम्भिक काम अघि बढाउन अधिकारी तोक्ने निर्णय गरेको छ ।
कलैया र सिमौनगढको नापी तथा मालपोतसम्बन्धी कार्यक्षेत्रमा रहेका साविक पिपरा विर्ता, पिरारीगोठ, वर्किफूलबरिया, कविहिगोठ, बबहि, हर्दिया, परसुरामपुर र नजरियालाई नापि कार्यालय पिराको कार्यक्षेत्रमा पर्नेगरी कार्यक्षेत्र संशोधन गर्ने निर्णय गरेको छ । बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तारित सडक सिमा भित्रका घरटहरा हटाई क्षतिपूर्ति दिने र प्रारम्भिक कारबाही चलाउन स्वीकृति दिने निर्णय गरेको छ । जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिलन भवन बनाउन १८३।८ रोपनी जग्गा प्राप्तिका लागि नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।





प्रतिक्रिया