देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठको दोस्रो हप्तादेखि भारतको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको छ । त्यसको औपचारिक घोषणा हुन बाँकी छ ।

प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारीमा दुवै देश जुटेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने दुवै देशको सहमतिमा चाँडै नै मिति तय हुने बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी सुरु भएको छ । विभिन्न सरोकारवाला तथा विज्ञहरूसँग छलफल पनि सुरु भएको छ, चाँडै नै दुवै देशको सहमतिमा मिति तय हुनेछ।’

परराष्ट्र मन्त्री एनपी साउदले पूर्वपरराष्ट्र सचिव, पूर्वपरराष्ट्र मन्त्री, पूर्वराजदूतहरूसँग छलफल गरिसकेका छन् । उनीहरूलाई मन्त्रालयमा नै बोलाएर बिहीबार र शुक्रबार मन्त्री साउदले छलफल गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पनि भारत भ्रमणको तयारी थालिसकेको छ । विभिन्न मन्त्रालयका एजेन्डाहरू मगाएर त्यसमा छलफल गरिएको छ ।

भारत भ्रमणको क्रममा जलविद्युत, दूरसञ्चार, शिक्षा, कृषि, स्वास्थ्य, पेट्रोलियम पाइपलाइनलगयातको विषयमा सहमति गर्ने तयारी छ । ती एजेन्डामा प्रधानमन्त्री कार्यालयले सम्बन्धित विज्ञहरूसँग छलफल सुरु गरेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति अगामी हप्ता घोषणा हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।