देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गरिने

तल्लो अरूण जलविद्युतको (पिडिए) को अन्तिम मस्यौदा स्वीकृत

देशान्तर

काठमाडौं । लगानी बोर्ड नेपालले ६७९ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्न प्रक्रिया अघि बढाएको छ ।
आइतबार बसेको लगानी बोर्डको बैठकले पावर चनाइनालाई नेपाली कम्पनी हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एच आई डी सी एल) सँग मिलेर आयोजना बनाउन गरेको सम्झौता र कार्ययोजनाअनुसार काम अघि नबढेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
एच आई डी सी एलले लगानी बोर्ड नेपाललाई, आयोजना बनाउने पावर चाइनासँग २६ असोज २०७६ मा भएको सम्झौतालाई निरन्तरता नदिन औपचारिक आग्रह गर्दै पत्र लेखेको थियो । त्यसकै आधारमा लगानी बोर्डले यसबारे स्पष्ट गर्न पावर चाइनालाई पत्र पठाउने निर्णय गरेको हो ।
३ वर्षअघि चिनियाँ राष्ट्रपति सि जिन फिङ नेपाल भ्रमणमा रहेका बेला पावर चाइनाले यो आयोजनामा ७४ प्रतिशत लगानी गर्ने गरी सम्झौता भएको थियो । सरकारले तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदा गरेर भारतीय कम्पनी भित्राउने योजना बनाएको छ ।

यसैबीच लगानी बोर्डको ५४औं बैठकले तल्लो अरूण जलविद्युत परियोजना विकास सम्झौता (पिडिए) को अन्तिम मस्यौदा दस्तावेज स्वीकृत गरी अनुमोदनका लागि मन्त्रीपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। यो आयोजना विकासको जिम्मा भारतीय कम्पनी सतलज विद्युत निगम एसजेभिएनले पाएको हो ।
६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत आयोजना विकासका लागि बोार्डको ५३ औं बैठकको निर्णयअनुसार बोर्डका कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरूको सदस्य रहेको वार्ता समितिले सतलजसँग चरणबद्ध रूपमा वाता गरेको थियो। वार्तापछि सहमतिसहित पिडिएको अन्तिम मस्यौदा दस्तावेज तयार गरेको हो । बोर्डको अघिल्लो बैठकले यो परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरिसकेको छ ।