काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीको लागि कुल शैयाको १० प्रतिशत शैया छुट्याएर अनिवार्य रुपमा निःशुल्क उपचार गराउन ताकेता गरेको छ ।
मन्त्रालयले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई १० प्रतिशत शैया छुट्याएर निःशुल्क उपचार गर्न ताकेता गरेको हो । साथै बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीको लागि कुल शैयाको दश प्रतिशत शैया छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा गराउनुपर्ने तथा सोही मापदण्डको दफा ७२ (ट) मा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नु पर्नेछ भनी उल्लेख गरेको छ ।
उक्त कानुनी व्यवस्था बमोजिम मन्त्रालय र मातहतका निकायहरुबाट विभिन्न स्वास्थ्य संस्थाहरुमा नियमित तथा आकस्मिक अनुगमनको क्रममा मापदण्ड अनुसार भएको नदेखिएको तथा अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको भन्ने गुनासोहरु आएकाले प्रचलित कानूनमा भएका सम्पूर्ण व्यवस्थाहरु सम्बन्धित स्वास्थ्य संस्थाहरुले पूर्णरुपमा पालना गर्न गराउन निर्देशन दिएको हो ।
यसअघि बैसाख १३ गते सबैमा अनुरोध गरिएको भएतापनि हालसम्म कार्यान्वयन नभएको भनि पुनः विभिन्न माध्यमबाट गुनासोआएकाले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धि मापदण्ड पूर्ण पालना गर्न सचिव स्तरको आज निर्णय गरेको बरिष्ठ स्वास्थ्य प्रशासक डा .समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिए ।
आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भेटेर ६८ वटा अस्पतालहरुले कुल शैयाको १० प्रतिशत शैया उपलब्ध नगराएको भन्दै ध्यानाकर्षण गराएका थिए ।
यसअघि काठमाडौं महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउन सूचना जारी गरेको थियो । आजै
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैयाको उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
बुधबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अस्पतालहरुमा आईसीयू, इमर्जेन्सी वा सीसीयू बेडहरु के–कति छन् र कति खाली छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे ।
उक्त काम सुरु भइरहेको भन्दै अब त्यसप्रकारको समस्या नहुने बताउँदै उनले ओपीडी टिकट अनलाइनमार्फत पनि लिन सकिने बताए । उनले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए ।
संसारभरमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै उनले कर बढाउनुपर्ने बताए । सुर्तीजन्य पदार्थमा कम्तिमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिब बिरामीहरुको उपचारमा प्रयोग गर्नुपर्ने बताए ।





प्रतिक्रिया