काठमाडौं । सरकारले विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समितिबाट पेस भएको विधेयकलाई स्वीकृति दिने निर्णय भएको बताइन् ।
यस्तै अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना जारी गर्ने र यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ । ६–६ महिनामा प्रकाशित गर्नुपर्ने प्रावधान अनुसार यो निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद्को बैठकले जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन जान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्विकृति दिएको छ । बैठकले काभ्रेको पाँचखालमा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्रामका रूपमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ ।
त्यसै गरी कालीमाटी तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई दिने निर्णय भएको र माथिल्लो मैलङखोला जलविद्युत आयोजनाका लागि रसुवा र नुवाकोट जिल्लामा रहेको वन प्रयोग गर्न दिन र रुख हटाउने स्वीकृति दिने निर्णय पनि गरिएको सरकारकी प्रवक्ता शर्माले जानकारी दिइन् ।





प्रतिक्रिया