काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीलाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बजेटको विरोध नगर्न आग्रह गरेका हुन् । सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट एकीकृत समाजवादीका सांसद र नेताहरूले निरन्तर विरोध गर्न थालेपछि प्रचण्डले उनीहरूलाई बोलाएर छलफल गरेका हुन् ।
आर्थिक सङ्कट भएकाले धेरै योजना कार्यक्रम समेट्न नसकिएको प्रचण्डले समाजवादीका नेताहरूसँगको भेटमा प्रस्ट पारेका थिए ।
आगामी आर्थिक वर्षको बजेटमा एकीकृत समाजवादीका योजनाहरू नसमेटिएपछि विरोध जारी राखेका छन् । नेताको शक्ति र सत्तालाई केन्द्रमा राखेर बजेट विनियोजन गरेकाले विरोध जनाएको उपमहासचिव गंगालाल तुलाधरले बताए । बजेट विनियोजन गर्दा विधि पद्धति भन्दा बाहिर गएर गरिएकाले आपत्ति जनाएको तुलाधरको भनाई छ । तर, बजेट पारित हुन नदिने वा संशोधन गर्ने भन्नेतिर परिस्थिति नजाने बताएको छ ।
यसैबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा पार गएर आलु प्याज किने जसरी सवारी साधन खरिद गर्न नसकिने भन्दै करका दरसम्बन्धीका सूचना चुहाएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सामान्य छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा महतले विद्युतीय गाडीमा निर्धारण गरिएको करका दरसम्बन्धी सूचना चुहावट भएकाले बजेट अगाडि धेरै गाडी आयात भए भन्नुको कुनै अर्थ नभएको बताए । अहिले आयात भएका एक हजार तीन सय गाडीमध्ये ९० प्रतिशत गाडीको प्रतितपत्र (एलसी) चैतमै खुलेको पनि उनको भनाइ छ ।
विद्युतीय सवारी साधन प्रवद्र्धन गर्नकै लागि नेपालमा सार्क मुलुकमै सबैभन्दा कम कर लगाइएको समेत मन्त्री महतको भनाइ छ । सार्क मुलुकमा विद्युतीय सवारी साधनमा लाग्ने पैठारी महसुल दर नेपालको तुलनामा धेरै रहेको उहाँले बताए ।
अर्थमन्त्री डा महतले सर्वसाधरणले प्रयोग गर्ने २०० सिसि क्षमताको मोटरसाइकलको अन्तशुल्क र २००० सिसि क्षमताको कारको अन्तशुल्क एउटै भएकाले त्यसलाई समायोजन गरिएको पनि स्पष्ट पारे । । अर्थमन्त्री डा. महतले बजेट कठिन परिस्थतिमा आएको भन्दै सबै समस्या एकै पटक नसल्टिने बताए ।
कोभिडको प्रभाव, रुस–युक्रेनको युद्ध र आर्थिक मन्दीसम्मका समस्याका बीच आएको बजेटले समस्या समाधानका उपाय खोजिएको भन्दै विगतदेखिका समस्या एकै पटक नसल्टिने समेत उनले बताए ।
बजेटमा विपक्षी दलका नेताले २ घण्टा समय टिप्पणीका लागि खर्च गर्नुले बजेटमा नयाँ कुरा भएको पुष्टि हुने उनको तर्क थियो ।
बजेटले देशभित्र उत्पादन बढाउने, रोजगारी बढाउने, विदेश जाने युवालाई स्वदेशमै रोक्नेतर्फ गम्भिरताका साथ हेरेको उनले बताए । आईटी क्षेत्र, स्टार्टअपका विषय यसतर्फ केन्द्रित रहेको उनको भनाइ छ । बाँझो जमिन उपयोग, सहकारी, कृषि, पर्यटन, साना उद्योगबाट रोजगारी सिर्जना गर्न सकिने गरी कार्यक्रम केन्द्रित गरिएको उनले बताए । बजेटमा आएका नाराहरु कार्यक्रमसँग सम्बन्धित रहेको बताए ।





प्रतिक्रिया