काठमाडौं । काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्कीले सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गरेका छन् ।
त्यसक्रममा उनले आफू इच्छाविपरीत न्यायाधीश बनेको तर इमान कायम राखेको बताएका थिए । सुनुवाइ समितिको अर्को बैठक शुक्रबार ८ बजे बस्नेछ । शुक्रबारको बैठकमा सवाल जवाफ हुने तय भएको छ । कामु प्रधानन्यायाधीश समेत रहेका कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस भएका थिए ।
संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।
हाल कार्की नै कामु प्रधानन्यायाधीश छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ । यसैबीच संसदीय सुनुवाइ समितिको बैठकमा पुगेका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धका उजुरीकर्ताले प्रश्न उठाएपछि संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भएको छ । यही जेठ १४ गते संघीय संसदबाट पारित भएको नियमावली संघीय संसद सचिवालयले राजपत्रमा प्रकाशित गरेको हो ।
नियमावली राजपत्रमा प्रकाशित नगरिएको भन्दै प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्ताले बुधबार संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गर्दै विरोध जनाएका थिए । उनीहरुले प्रधानन्यायाधीश नियुक्तिजस्तो प्रक्रियामा सवाल उठ्ने गरी काम गरिएको भन्दै समितिको वैधानिकतामाथि समेत प्रश्न उठाएका थिए । त्यसरी प्रश्न उठाउने उजुरीकर्ता न्यायाधीश, वकिललाई समितिका सदस्यले नेपालको संविधानको धारा १०३ बारे जानकारी गराएका थिए ।





प्रतिक्रिया