देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवा सुदुरपश्चिममा, अब मतदानपछि फर्कने

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुन शुक्रबार प्रदेश नम्बर ७ अर्थात सुदुरपश्चिम पुगेका छन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले शुक्रबार दिउँसो कैलालीको धनगढी उपमहानगरपालिकाको क्याम्पस रोड र फूलबारीमा आयोजना हुने नेपाली काँग्रेसको दुई छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

शुक्रबारको राति उनले धनगढीमा नै बिताउनेछन् । उनी शनिबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका निजी सचिव एवं अधिवक्ता केशवराज जोशीले जानकारी दिए । त्यस्तै उनले आइतबार ११ गते डोटीको बुडर र आफ्नै गृहजिल्ला डडेलधुराको जोगबुडामा आयोजना हुने काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्नेछन् । १२ गतेबाट चुनाव प्रचारप्रसारको शून्य समय लागू हुने भएकाले त्यो अवधि गृहजिल्लामा बिताउनेछन्।

प्रधानमन्त्री देउवा ११ गतेदेखि १४ गतेसम्म गृहजिल्ला डडेल्धुराको सदरमुकाम अमरगढीमा रहनेछन्। उनी १४ गते बिहान आफू जन्मेको रुवाखोला गाउँको मतदना केन्द्र हाल गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १, असिग्राम माविमा रहेको मतदना केन्द्रमा मतदान गरी काठमाडौंँ फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।