देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा : गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिने

देशान्तर

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिने बताएका छन् । यस विषयमा सर्वसहमति आवश्यक हुने उनको भनाइ छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री साउदले भारतीय कानुनमा परिवर्तन भएपछि गोर्खा भर्ती रोकिएको बताए । त्यसपछि भर्ती खुलाउन औपचारिक कूटनीतिक पहल नभएको जानकारी पनि उनले गराए । भारतको ‘अग्निपथ’ योजना अनुसारको गोर्खा भर्तीमा नेपालले असहमति जनाएपछि गत अगस्ट महिनाको अन्त्यमा भर्ना छनोटको काम अनिश्चितकालका लागि स्थगित गरिएको थियो । भर्ना लिइएका युवामध्ये निश्चित प्रतिशतलाई मात्र चार वर्षपछि भारतीय सेनामा स्थायी पदस्थापन गरिने र अरूलाई निश्चित रकम दिएर घर फिर्ता पठाइने नीति भारत सरकारले अवलम्बन गर्ने निर्णय गरेपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अग्निपथ योजना अनुसारको गोर्खा भर्ती स्थगित गरेको थियो।
परराष्ट्रमन्त्री साउदले हालसम्म बीआरआई परियोजनाअन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको पनि बताए । बैठकमा उनले चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको भए पनि त्यसपछि बीआरआईअन्तर्गत कुनै पनि योजना नेपालमा अघि नबढेको बताएका हुन् । तर, पछिल्लो समय चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गतको भएको दाबी गर्दै आएपछि नेपालमा बहसको विषय बनेको थियो । बैठकमा समितिका सदस्यहरुले प्रश्न गरेसँगै मन्त्री साउदले बीआरआईअन्तर्गत हालसम्म कुनै योजना नेपालमा सुरु नभएको र कार्यान्वयनको सन्दर्भमा अहिले सरकार छलफलमा रहेको बताए । ‘एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जान्छ । कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ’, उनले भने, ‘बीआरआई सन् २०१७ मा नेपालले चीन सरकारसँग एमओयु गरिसकेको छ । यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौं । यो कार्यक्रमअन्तर्गत कुनै पनि योजना नेपालमा सुरु भएको छैन । नेपाली कांग्रेसका सांसद एवं पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले देशको राजनीतिक परिस्थिति सुदृढ नभइ परराष्ट्र नीति बलियो हुन नसक्ने बताए । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा उनले देशको राजनीति स्थायी नभएसम्म परराष्ट्र सम्बन्ध बलियो हुन नसक्ने बताएका हुन् । उनले राष्ट्रिय एकताको रुपमा परराष्ट्र नीतिहरु अघि बढाउन जरुरी रहेको औंल्याए । पररराष्ट्र मन्त्रालयले प्रत्येक दुई हप्तामा परराष्ट्रसम्बन्धी गतिविधिलाई जानकारी गराउनुपर्ने सांसद खड्काको भनाइ छ ।
उनले नेपालमा युरोप र अमेरिकाको चासो बढिरहेको बताए । ‘म मन्त्री हुँदा प्रेसका लागि प्रेस मिट हरेक दुई हप्तामा गर्थें, अहिले के छ त्यसको अवस्था ?’, उनले भने, ‘नेपालमा युरोप र अमेरिकाको चासो भयंकर बढिरहेको छ । त्यसलाई कसरी भारत र चीनसँग समस्या नपर्ने गरी अघि बढाउने ? त्यो बारेमा सोच्नुपर्छ ।’ सांसद खड्काले छिमेकी देशहरु चीन र भारतसँग सम्बन्ध नबिगारिकन अन्य देशहरुसँगको सम्बन्ध विस्तार गर्नुपर्ने पनि बताए ।