देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुङ्गिने

डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध

देशान्तर

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद ले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुङ्गिने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत पद रिक्त रहेको बताए । उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताए । राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने र नियुक्ति प्रक्रिया तत्काल टुङ्गिने उनको भनाइ थियो ।

मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरूले उच्च प्राथमिकता राखेका बताए । विदेशमा रहेका नेपालीहरूको हक, हितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरूको भूमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । मन्त्री साउदले नियोगहरूलाई साधन, स्रोत सम्पन्न बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री ज्वालाले अध्ययनबिना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति भइरहेका भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले डोजरे विकासका कारण सयौँ बिगाहा खेतीयोग्य भूमि पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको बताए । विभिन्न राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्नका लागि सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको भन्दै मन्त्री ज्वालाले सवारीचालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिने पनि बताए ।