काठमााडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्री महतले मुलुकको आर्थिक अवस्था सुधार गर्दै यस क्षेत्रको अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले आर्थिक अवस्था सुधारका लागि अन्य मन्त्रालयसँगको समन्वयमा मन्त्रालय अघि बढेको जिकिर गरे ।
यसैगरी कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताए । उनले हालसम्म १२ लाख भन्दा बढी मात्रा खोप ल्याइसकिएको र दुई लाख ५० हजार ७६६ पशुलाई खोप दिइसकिएको बताए । मन्त्री भुसालले रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको स्पष्ट पारे । मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानिय तहमा पठाइएको उनको भनाइ थियो ।
आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य
उस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
आगामी १० वर्षभित्रमा भने २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए । सोहीअनुरुपको ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको उनले बताए । मन्त्री बस्नेतले विद्युत्को आन्तरिक खपत क्षमता बढाउने पनि बताए ।
अव्यवस्थित सरुवा प्रणालीलाई व्यवस्थित बनाइने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले २५० स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेकोमा अहिलेसम्म १४२ मा झारिएको बताए ।
उनले नयाँ सिफारिस शाखा अधिकृत र शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएकालाई पनि पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएर निमित्त हटाउने गरिएको बताए ।
मन्त्री मोदीले अव्यवस्थित सरुवा प्रणालीलाई व्यवस्थित बनाउनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वको कार्यदल गठन गरको र कार्यदलले काम अन्तिम चरणमा पुर्याएको पनि जानकारी गराए । मोदीले संघीय निजामती सेवा विधेयक अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पुगेर अड्किएको जानकारी गराएका थिए ।





प्रतिक्रिया